सडक पार गर्नै हम्मे
बबिता तामाङ काठमाडौँ कार्तिक ९ काठमाडौं सुकेधारा बस्ने कबिता थापालाई पैसा निकाल्न थापाथली जानुपर्ने भयो। उनी बुधबार बिहानै सुकेधाराबाट थापाथली हिँडिन। राष्ट्रिय बाणिज्य बैंक जान उनले ब्रिटिस कलेज अगाडिबाट सडक पार गर्न खोजिन तर तिब्र गतिमा गुडेका सवारी छिचोल्न उनलाई आँट आएन। केही समय अघि कालोपत्रे गरिएको थापाथली सडकमा कतै पनि जेब्राक्रस मार्किङ गरिएको छैन्। मार्किङ नै नभएपछि थापाथली जस्तो व्यस्त सडकमा सवारी साधनले पैदल यात्रुलाई बाटो दिने कुरै भएन। जसो तसो अन्दाजको भरमा सडक पार गरेर उनी बैंक भएको साईड तर्फ आईपुगीन। ‘जेब्रा क्रसिङ नै छैन, कहाँबाट बाटो काट्नु?,’ उनले दिक्क मान्दै भनिन्, ‘ज्यानको बाजी राखेर सडकमा हिँड्नुपर्ने अवस्था छ।’ कबिता काठमाडौँमा पैदल यात्रा गर्नेहरुको प्रतिनिधि पात्र मात्रै हुन्। कोटेश्वर, बानेश्वर, गौसाला, थापाथली, त्रिपुरेश्वर लगायतका व्यस्त कुनै पनि सडकहरुमा स्पस्ट देखिने खालका जेब्रा क्रसिङ छैनन्। मार्किङ भएका ठाउँमा पनि सडक निर्माण र धुलोका कारण ती देखिँदैनन्। पैदलयात्रुहरु कबिताले जस्तै समस्या भोग्न बाध्य छन्। त्यसो त सडकमा जेब्रा क्रसिङ नहुँदाको पिडा पैदल यात्रु मात्र नभई सवारीसाधनका चालकहरुले पनि भोग्नुपर्छ। १५ वर्षदेखि काठमाडौंमा टेम्पु चलाउँदै आएका दोलखाका दोर्जे लामा ट्राफिक नियमप्रति असन्तुस्ट देखिन्छन। उनी भन्छन, ‘ट्राफिक नियम लागु हुनु र नहुनुको कुनै अर्थ छैन।’ बौद्धदेखि शंखमुलसम्म टेम्पु चलाउने लामाले गौशालाको मार्किङ नभएको र भत्किएको सडक देखाउँदै प्रश्न गरे, ‘सडकमा मार्किङ छैन अनी ट्राफिक नियम लागु गर्न खोजेर मात्रै हुन्छ?’ निरिह प्रहरी, कर्मचारी तर, अस्तव्यस्त सडकलाई लिएर आउने सवारी चालकदेखि सर्वसाधारणसम्मको गुनासोलाई स्वाभाविक रुपमा लिन्छन् महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी सर्वेन्द्र खनाल। ‘ट्राफिक व्यवस्थापन गर्नु पछिल्लो समय चुनौति बन्दै आएको छ,’ डिआईजी खनाल भन्छन्, ‘ट्राफिक लाईट, मार्किङ, सवारी साधन आदीको व्यवस्थापन हुन नसक्दा ट्राफिक व्यवस्थापन असहज भएको हो।’ उनी थप्छन्, ‘सडकको लेन मेटिँदै गएको अवस्थामा गाडी दुर्घटना भए पनि ट्रफिक प्रहरीले केही गर्न नसक्ने अवस्था छ।’ ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीे मात्र लागि परेर नहुने भन्दै उनी यसका लागि सडक विभाग, काठमाडौं महानगरपालिका लगायतका संघ संस्थाहरुले सहयोग गर्नु पर्ने बताउँछन्। सडक मर्मत, सम्भार गर्नु सडक विभागको जिम्मेवारी हो। तर, विभाग जिम्मेवारी समयमै पुरा गर्नुको साटो जिम्मेवारीबाट पन्छिन खोज्छ। सडक बिभागका सहायक सूचना अधिकारी रमेश कुमार सिंहले नै काठमाडौंका सडकका मार्किङबारे बुझ्न खोज्दा सूचना दिन अस्वीकार गरे। र त्यो जिम्मेवारी डिभिजन सडक कार्यालयतिर पन्छाइदिए। रमेश कुमार सिंहले भने, ‘रोड मार्किङ कति समयमा हुन्छ भन्ने कुरा सडक डिभिजन कार्यालयमा सोध्नु होला।’ डिभिजन सडक कार्यालय झन् यो विषय सडक बिभागको हो भन्दै पहिले नै पन्छिन खोज्यो। बढ्दो सडक दुर्घटना सडक व्यवस्थित नहुँदा चालक र पैदल यात्रुले लेन अनुशासन पालना गर्न छाड्दै गएका छन्। यसकै कारण सडक दुर्घटना पनि बढिरहेको स्वयम ट्राफिक प्रहरीकै तथ्यांकले पनि देखाउँछ। ट्राफिक प्रहरी महाशाखाका अुनसार आर्थिक वर्ष २०७४÷७५ को तीन महिनामा काठमाडौं उपत्यकामा मात्र चालकको लापरवाहीले एक हजार चार सय १९ सवारी दुर्घटनामा परेका थिए। त्यसमध्ये सडकको अवस्था राम्रो नभएका कारण ११ सवारी दुर्घटना भए भने पैदल यात्रुको लापरवाहीले एउटा सवारी साधन दुर्घटना भएको प्रहरी तथ्यांकले देखाउँछ। ट्राफिक नियम उलङ्घन गरेको लगायतका घटनाबाट ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७४÷७५ को दुई महिनामा चार करोड ७८ लाख ८८ हजार पाँच सय राजश्व संकलन गरेको थियो। त्यस्तै अघिल्लो वर्षको दुई महिनामा पाँच करोड ६० लाख ८० हजार चार यस राजश्व संकलन भएको थियो। ट्राफिक नियम उलङ्घन गरे बापत नै महिनामा करोडौं राजश्व संकलन भए पनि सडक मर्मतमा भने यसको सानो अंश पनि प्रयोग भएको छैन्। आगामी दिनमा सडक दुर्घटना कम गराउन महाशाखाले अन्य संघ संस्थासँग समन्वय गरेर अगाडि बढ्ने डिआईजी खनाल बताउँछन् सुधारमा केही प्रयास महाशाखामा नयाँ प्रमुखका रुपमा आफु आएपछि ट्राफिक व्यवस्थापनमा केही कडाई गरेको डिआईजी खनालको दाबी छ। ‘महाशाखाले ट्राफिक व्यवस्थापनका लागि धेरै जाम हुने गरेका कोटेश्वर, कलङ्की लगायतका स्थानमा सामान्य समय भन्दा धेरै ट्राफिक खटाएर जाम हुन नदिन काम गरिराखेको छ,’ डिआइजी खनाल भन्छन्, ‘सडकको लेन, जेब्राक्रसिङ मेटिँदै गएको हँुदा सडक दुर्घटना निम्तिएको छ, त्यसमा पनि हामीले सक्ने जती काम गरिराखेका छौं।’ नारायणगोपाल चोकदेखि कलंकीसम्मको सडक व्यवस्थापनका लागि महाशाखाले सडक अतिक्रमण गरेर बसेकाहरुलाई हटाउनुका साथै रोड मार्किङमा पनि काम गरिराखेको उनले जानकारी दिए। महाशाखाका अुनसार ट्राफिक जाम हुन नदिन जाम धेरै हुने मुख्य–मुख्य प्वाईन्टहरुमा सिनियर अफिसरको कमाण्डमा ट्राफिक परिचालन गर्ने व्यवस्था मिलाइएको छ। Source:https://nepalkhabar.com/np/news/community/24965/