रेडियोकर्मी निरा श्रेष्ठ ‘निरु’ को अल्पायुमै निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध

 

मिति : २०८१।०१।०९

नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’ को उपचारको क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ४० वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।

केही समयदेखि जिब्रोको क्यान्सरबाट पीडित श्रेष्ठको एक सातादेखि उक्त अस्पतालमा उपचारत भई रहेकोमा उपचारकै क्रममा वैशाख ६ गते बिहीबार निधन भएको हो । स्वर्गीय श्रेष्ठका श्रीमान र एक छोरी हुनुहुन्छ ।

झण्डै दुई दशकदेखि पत्रकारितामा सक्रिय श्रेष्ठ विसं. २०६४ सालमा हेटौडामा स्थापित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जमा सुरुदेखि नै आवद्ध रहेर काम गर्नुभएको थियो । विसं. २०७२ सालदेखि काठमाडौंको रेडियो थाहा सञ्चार नेटवर्क ९९.४ मेगाहर्जमा आवद्ध रही पछिल्लो डेढ दशकदेखि युवालक्षित कार्यक्रम निर्माण र सञ्चालकका रूपमा कार्यरत हुनुहुथ्यो । त्यस दौरान श्रेष्ठले चितवन र वीरगञ्जको विभिन्न रेडियोमा समेत काम गर्नुभएको थियो । श्रेष्ठको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु महिला रेडियोकर्मी गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

 

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्