रातोपाटी डटकम अनलाइनमा कार्यरत पत्रकार कृष्णसिंह धामीलाई आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति ; २०८०।०६।०९

रातोपाटी डटकम अनलाइनमा कार्यरत पत्रकार कृष्णसिंह धामीलाई आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

असोज ८ गते सोमबार दिउँसो ४ः०० बजे खाजा खाएर ललितपुरको बखुन्डोलस्थित अनलाइनको कार्यालय फर्कदै गर्दा ५\६ जनाको समुहमा आएका व्यक्तिहरूले सांघातिक आक्रमण गर्दा पत्रकार धामीको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागी पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भएको रातोपाटी अनलाइनले जनाएको छ ।

भाद्र २५ गते सोमबार त्रिभुवन विश्वविद्यालयबाट प्रदान गरिएको केही शैक्षिक कार्यक्रमका बारे रातोपाटी अनलाइनले समाचार प्रकाशित गरेको थियो । सोही विषयलाई लिएर विद्यार्थी संगठनले पत्रकार कृष्णसिंह धामी र रातोपाटी अनलाइनको नाम किटान गरी २०८० भाद्र २६ गते मंगलबार चेतावनीपूर्ण विज्ञप्ति जारी गरेको विषयलाईसमेत मध्यनजर गर्दै अनुसन्धान अघि बढाइ कानुनी कारबाही गर्न महासंघ माग गर्दछ ।

कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमले आक्रमण हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम हो । दिनदहाडै भएको यो घटनाले प्रेसको सुरक्षा स्थिति चुनौतीपूर्ण देखिएको महासंघको निष्कर्ष छ ।

अतः महासंघ अपराधिक मनसायले पत्रकारमाथि आक्रमण गर्नेको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

गोविन्दप्रसाद चौलागाई

सचिव

 डाउनलोड गर्नुहोस्