पत्रकार धम्क्याउनेलाई मौजुदा कानुनअनुसार कारबाही गरी पत्रकारको सुरक्षा प्रवन्ध मिलाउन महासंघकाे माग

 

२०७९।०२।२३

पत्रकार कञ्चन न्यौपानेलाई तीन वर्षदेखि ‘नेपाल आज’ नामक अनलाइनका अध्यक्ष माधव गुरागाइँले दुव्र्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । गुरागाइँले साथी, सहकर्मी र आफन्तसमेतलाई विभिन्न प्रकारले धम्की दिएको पत्रकार न्यौपानेले महासंघमा जानकारी गराउनु भएको छ ।

पीडकविरुद्ध पत्रकार न्यौपानेले दायर गरेको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकै समयमा विभिन्न व्यक्ति तथा संस्थाको आवरणमा पीडित, उनका आफन्त, साथी तथा सहकर्मीलाई धम्की दिनु अर्को अपराध हो । निज गुरागाइँले पत्रकार पुष्प ढुंगाना, धु्रव रिजाललगायत पत्रकार तथा सञ्चारकर्मीलाई पनि विभिन्न माध्यमबाट धम्की दिएको महासंघमा निवेदन प्राप्त भएको छ ।

त्यस्तै नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार शिल्पा कर्णलाई पनि पत्रकार न्यौपानेलाई न्याय दिलाउन साक्षी बसेको निहुँमा प्रतिवादी गुरागाइँले अन्य व्यक्तिको प्रयोग गरी धम्क्याउने काम गरेका छन् । महासंघ नयाँ पत्रिका प्रतिष्ठान शाखाकाअनुसार प्रतिवादी गुरागाइँले अन्य व्यक्ति प्रयोग गरी बकपत्रका लागि अदालत नजान दबाब दिँदै ‘तपाईंको सुरक्षा तपाईंकै जिम्मेवारी हो’ भनी पत्रकार कर्णलाई धम्क्याएका थिए ।

न्यायको पक्षमा उभिँदा पत्रकारलाई दिइएको दबाब र धम्कीको यस्ता घटना आपत्तिजनक र प्रेस विरोधी काम हुनुका साथै अदातलको अपहेलाना पनि हो । अदालतमा विचाराधीन मुद्दालाईसमेत प्रभावित बनाउने गरी धम्की दिएको यो घटनाले पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने काम भएको महासंघको ठहर छ । महासंघको आचारसंहिता तथा अनुगमन विभागले पनि यसअघि दुई पटक सचेत गराइसकेको निज गुरागाइँलाई मौजुदा कानुनअनुसार कारबाही गर्न र पत्रकारको सुरक्षा प्रवन्ध मिलाउन महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।

...................

रोसन पुरी

महासचिव