मतगणनाको सहज तरिकाले समाचार संकलन गर्ने वातावरण बनाउन निर्वाचन आयोग र सरकारसँग माग

मिति : २०७९।०१।३०

स्थानीय तह सदस्य निर्वाचन २०७९ का क्रममा विभिन्न जिल्लामा समाचार संकलनका लागि रोक लगाइएका घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

निर्वाचन अन्तरगत मतदानका दिन आज विभिन्न जिल्लामा राजनीतिक दल, सुरक्षाकर्मी र निर्वाचन अधिकृतबाट पत्रकारलाई मतदान केन्द्रमा प्रवेश नदिने, क्यामेरा र मोबाइल जफत गर्ने, सवारी आवागमनमा अवरोध गरिएको विभिन्न जिल्ला शाखाले जानकारी गराएका छन् । चितवन, नवलपरासी, पर्सा, स्याङ्जालगायतका जिल्लामा पत्रकारलाई समाचार संकलनमा अवरोध गरिएको छ ।

निर्वाचन आयोगले पत्रकारलाई मतदानका दिनका लागि सवारी पास उपलब्ध गराउन सहजीकरण गरे पनि सबै जिल्लामा एउटै प्रकारको कार्यविधि लागू नहुनु दुःखद् हो । संविधानले प्रत्याभूत गरेको पूणर् प्रेस स्वतन्त्रताको सम्मान गर्न महासंघ निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराउँदछ ।

मतदान लगत्तै हुने मतगणनाको समाचार संकलनमा मतदानमा जस्तो अवरोध नआउने विश्वास व्यक्त गर्दै महासंघ मतगणनाको सहज तरिकाले समाचार संकलन गर्ने वातावरण बनाउन निर्वाचन आयोग र सरकारसँग माग गर्दछ ।

रोसन पुरी

महासचिव