प्रत्यक्ष प्रसारण गर्ने सन्दर्भमा हवाइजहाजको निषेधित कक्षमा जबरजस्ती प्रवेश गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७८/१२/२२

हालै प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा प्राइम टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्ने सन्दर्भमा हवाइजहाजको निषेधित कक्षमा जबरजस्ती प्रवेश गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ पत्रकारहरु समाचार संकलनका लागि स्वतन्त्र हुनपर्छ र राज्यले त्यसका लागि सबैखाले व्यवस्था गर्नुपर्छ भन्ने धारणामा दृढ छ । त्यस्तो स्वतन्त्रताको भरपुर उपयोग गरेर नै नागरिकसम्म सूचना पु¥याउन सम्भव हुन्छ । तर, यस्तो स्वतन्त्रताको उपयोग गर्ने क्रममा सञ्चारकर्मीले अपनाउनुपर्ने संवेदनशीलताका सन्दर्भमा भने सञ्चारकर्मी स्वयम् सचेत र स्पष्ट हुनुपर्दछ ।

सूचनाको स्रोतसँग मर्यादित व्यवहार गर्ने, स्वास्थ्य तथा सुरक्षा संवेदनशीलता प्रदर्शन गर्ने, प्राविधिक पक्षको विशेष रुपमा हेक्का राख्ने कुराहरुमा ख्याल राखिएन भने समाचार संकलनका क्रममा क्षति उत्पन्न हुने अवस्था आउनेतर्फ पत्रकार तथा सञ्चारकर्मी सधैँ सचेत हुन आवश्यक छ । 

सूचना संकलन गर्न पाउनु पत्रकारको स्वतन्त्रता भएता पनि यस्तो सूचना संकलन गर्दा पत्रकारिताको मार्यादालाई ख्याल गर्नु जरुरी छ । सूचना संकलनका नाममा सुरक्षा संवेदनशील स्थानमा जबरजस्ती प्रवेश गर्नु पत्रकारिताको मर्यादा विपरित हुन्छ । त्यसैले त्यस्ता कुनै पनि संवेदनशील स्थानहरुमा प्रवेश गर्नुपूर्व लिनुपर्ने अनुमति र अपनाउनु पर्ने मापदण्डलाई पालना गर्न महासंघ सबैमा अपिल गर्दछ ।

 

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्