भारतको पतञ्जली योग पिठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेको र त्यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७८।०८।०५

भारतको पतञ्जली योग पिठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेको र त्यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालको प्रचलित कानुनले समेत सञ्चारमाध्यममा  विदेशी लगानीलाई निषेध गरेको अवस्थामा पतञ्जली योग पिठले टेलिभिजन खोल्नु नेपालको प्रचलित कानुनको ठाडो उल्लंघन हो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले विदेशी लगानी खुल्ला नगरिएका उद्योग वा व्यवसायको सूचीमा आमसञ्चारमाध्यमहरूलाई राखेको कानुनी प्रवन्धप्रति महासंघ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ ।  
दर्ता प्रक्रियासमेत पूरा नगरी टेलिभिजन सञ्चालन गर्न लागिएकाले महासंघ सम्बन्धित पक्षलाई राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियामावली २०५२  र प्रसारणसम्बन्धी निर्देशिका स्मरण गराउन चाहन्छ ।  
स्वदेशी सञ्चारमाध्यमको व्यावसायिकतामाथि आँच पुग्ने गरी आएको सञ्चार क्षेत्रमा विदेशी लगानीले नेपालको राष्ट्रियता, राजनीतिक,  आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पार्न सक्ने प्रभावप्रति सबै गम्भीर र संवेदनशील हुन आवश्यक रहेको निष्कर्ष महासंघको छ ।
महासंघ कानुनविपरित सञ्चार क्षेत्रमा विदेशी लगानी रोक्न र स्वदेशी लगानीका सञ्चारमाध्यमलाई प्रतिस्पर्धात्मक तथा व्यावसायिक रूपमा विकास गर्ने वातावरण निर्माण गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछ ।


रोसन पुरी
महासचिव

 डाउनलोड गर्नुहोस्