नेपाल पत्रकार महासंघ सिरहा शाखाका पूर्वसभापति एवं महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्द गुप्ताको ५८ वर्षको उमेरमा भएको असामयिको निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी

मिति : २०७८।०७।०६

नेपाल पत्रकार महासंघ सिरहा शाखाका पूर्वसभापति एवं महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्द गुप्ताको ५८ वर्षको उमेरमा भएको असामयिको निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । मस्तिष्कघात भएर विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत पत्रकार गुप्ताको उपचारकै क्रममा कात्तिक ५ गते शुक्रबार राति निधन भएको हो ।

वि.सं. २०४६ सालदेखि पत्रकारितामा सक्रिय रहेका गुप्ताले सुरुचि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका थिए । उहाँले देशान्तर साप्ताहिक, हिमालय टाइम्स दैनिक, नेपाल टेलिभिजन, नेपाल वान टेलिभिजनलगायतमा काम गर्नुभएको थियो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, अनुभवी र जुझारु पत्रकार गुमाएको छ । स्वर्गीय गुप्ताका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

महासंघ स्वर्गीय पत्रकार गुप्ताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

रोसन पुरी

महासचिव