समाचारको विषयलाई लिएर रेडियो नयाँ कर्णाली एफएममा कार्यरत सञ्चारकर्मी ललित विष्टमाथि कार्यालय हाताभित्र भएको हातपात र कालिकोटस्थित गोरखापत्र संवाददाता प्रेमराज सिम्खडालाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७८।०६।११
 

समाचारको विषयलाई लिएर रेडियो नयाँ कर्णाली एफएममा कार्यरत सञ्चारकर्मी ललित विष्टमाथि कार्यालय हाताभित्र भएको हातपात र कालिकोटस्थित गोरखापत्र संवाददाता प्रेमराज सिम्खडालाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

सञ्चारकर्मी विष्टमाथि सामाजिक सञ्जाल र अनलाइनमा समाचारको स्रोत खुलाइ प्रकाशित गरेको भन्दै कालिकोट जिल्लास्थित शुभकालिका गाउँपालिका उपाध्यक्ष पम्फाकुमारी शाहीले कार्यालय हाताभित्रै हातापात गरेकी र उहाँका श्रीमान् बखत शाहीले गोरखापत्र  संवाददाता सिम्खडालाई ज्यान मार्ने धम्की दिएको कालिकोट शाखाले जनाएको छ ।

कुनै पनि बहानामा स्थानीय निकायमा आसिन रहेका जिम्मेवार व्यक्ति र उहाँका श्रीमान्बाट पत्रकारमाथि यस किसिमको हर्कत हुनु आफैंमा निन्दनीय हुनुका साथै प्रेसविरोधी काम हो । महासंघ घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकार संवैधानिक स्वतन्त्रता र सुरक्षामा गम्भीर हुन स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराउँदछ । साथै, पत्रकार तथा सञ्चारकर्मीमा पनि पत्रकार आचारसंहिताको पूर्ण पालनासहित सञ्चारकर्ममा जुट्न आहृवान गर्दछ ।

यसैगरी समाचार संकलनका क्रममा भाद्र १० गते आइतबार महासंघ काठमाडौं शाखाका सदस्य एवं नेपाली जनता अनलाइनका सम्पादक यज्ञ ढकालमाथि काठमाडौं उपत्यका खानेपानी लिमिटेड महाकालचौरका खरिद प्रमुखसहितका कर्मचारीबाट भएको हातपातको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ पत्रकारको संविधानप्रदत्त अधिकारमाथि भएको यो आक्रमणको कडा शब्दमा भत्र्सना गर्दै हातपातमा संलग्नलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछ ।

रोसन पुरी
महासचिव