पत्रकारलाई निर्भयतासाथ पेशागत अभ्यास गर्ने वातावरण बनाउन महासंघकाे माग

२०७४।०१।२८

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकका विभिन्न भागमा कतिपय पत्रकार र सञ्चारमाध्यमाथि आक्रमण, धम्की र पक्राउको घटना भएकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघमा स्थानीय शाखा तथा पीडित पत्रकारहरुबाट प्राप्त जानकारी अनुसार, आजै महासंघ मकवानपुर शाखाका सदस्य तथा जनता जिन्दावाद साप्ताहिकका सम्पादक तिलक अधिकारीको मकावनपुरस्थित घरमा घेरा हाली पक्राउको प्रयास गरिएको छ भने हिजो बैशाख २७ गते महासंघ काठमाडौं शाखाका सदस्य ठाकुरप्रसाद तिमिल्सिना (रसुवाली कवि) र गम्भीर पाठक एवं लेखक योगेश बराललाई काठमाडौंबाट पक्राउ गरिएको छ । बैशाख १९ गते महासंघ रुकुम शाखाका सदस्य शिक्षा सञ्जाल साप्ताहिकका सम्पादक एवं क्याम्पस उपप्राध्यापकसमेत रहेका हरिविष्णु ओलीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराधको मुद्दासमेत लगाइएको छ ।

यसैगरी प्रहरीबाटै बागबजारस्थित रातो खवर साप्ताहिक कार्यालयमा छापा मारेको तथा काठमाडौं र अन्य विभिन्न जिल्लामा पत्रकार तथा पत्रकारका परिवारलाई अनावश्यक सोधपुछ गर्नुका साथै फोनबाट धम्क्याउने गरेको गुनासो समेत महासंघमा प्राप्त भएको छ । नुवाकोटमा पत्रकार देवचन्द्र भट्टले फोटो खिचेकै आधारमा गस्तीमा रहेका प्रहरीबाट दुव्र्यवहार गरिएको जनाइएको छ ।

पत्रकारिताको मर्यादाभित्र रही अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गरेकै कारण थुनछेक, हतोत्साहन र धम्की दिइनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप मात्र नभई संविधान र प्रचलित कानुन विपरित समेत हुने भएकोले पक्राउ गरिएका पत्रकारका विषयमा तत्काल तथ्य सार्वजनिक गर्न, गैरकानुनी गिरफ्तारी र हतोत्साहनका कार्य बन्द गर्न एबं पत्रकारलाई निर्भयतासाथ पेशागत अभ्यास गर्ने वातावरण बनाउन महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।


ध्रुव लम्साल
सचिव