पत्रकारहरुको नसर्ने रोगको स्वास्थ्य परीक्षण

 पत्रकारहरुको नसर्ने रोगको स्वास्थ्य परीक्षण



२०८२ बैशाख १८

 

बैशाख १८, नेपाल पत्रकार महासंघद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज आयोजित पत्रकारहरुका लागि नसर्ने रोगको स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।

 नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा आयोजित शिविरको महासंघका अध्यक्ष निर्मला शर्मा र मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले संयुक्त रुपमा गर्नुभयो । 

शिविरमा पत्रकारहरुको रक्तचाप, मधुमेह, बिएमआई मापन र पिसाव मार्फत मृगौला जाँचका साथै परामर्श सेवा प्रदान गरिएको सचिव सोनी शर्माले जानकारी दिनुभयो । महासंघका अनुसार शिविर देशभरका शाखाहरुमा पनि आजै सम्पन्न भएको छ । 

उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष निर्मला शर्माले सधै व्यस्त रहने पत्रकारको पेशागत अवस्थालाई मध्यनजर गर्दै निःशुल्क शिविर राखिएको बताउनुभयो । उहाँले शरिर स्वस्थ्य रहेमात्र पेशामा खरो रुपमा उत्रिन सकिने भन्दै पत्रकारलाई स्वास्थ्य रहन आग्रह गर्नुभयो । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले नसर्ने रोगका विरामी बढिरहेको भन्दै सधै व्यस्त रहने पत्रकारहरुले आफ्नो स्वास्थ्यमा पनि ध्यान दिन आग्रह गर्नुभयो । उहाँले खानपान नै स्वास्थ्यको मुख्य आधार रहेको भन्दै खानपान तथा व्यायाममा ध्यान दिनुपर्ने बताउनुभयो । 

जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा.वसन्त अधिकारीले नसर्ने रोगको शिविर प्रदेशस्तरदेखि पालिकासम्म सञ्चालन भइरहेको जानकारी दिनुभयो । 
त्यस्तैगरी, जनस्वास्थ अधिकृत अनिता खनालले नसर्ने रोगको भार बढ्दै गएको कारणले प्रारम्भिक पहिचानका लागि स्क्रिनिङ कार्यक्रम आयोजना भइरहेको जानकारी दिनुभयो ।