नेपाल पत्रकार महासंघले ३०औं विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनायाे

नेपाल पत्रकार महासंघले ३०औं विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनायाे



२०८० बैशाख २०

वैशाख २०, काठमाडौं । नेपाल पत्रकार महासंघले ३०औं विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

नेपाल पत्रकार महासंघले बिहान सिनामगंलचोकबाट महासंघ केन्द्रीय कार्यालयसम्म प्रभातफेरी आयोजना गर्नुकासाथै प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । 

महासंघको प्रभातफेरीलाई ऐक्यवद्धता जनाउदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले स्वच्छ पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष रहेको भन्दै संविधानले प्रत्याभूत गरेको व्यवस्थाका आधारमा पूर्ण प्रेस स्वतन्त्रतालाई सम्मान हुनेगरी प्रेस सम्बन्धी कानुन निर्माण गरिने बताउनुभयो । उहाँले प्रेसजगतको सहभागितामा प्राप्त भएको हालको उपलब्धिप्रति नकारात्मक टिकाटिप्पणी हुन थालेको भन्दै त्यसप्रति पत्रकारिता जगतले सहज भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 

वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिँदै कुनै पनि बाहानामा प्रेसमाथि अंकुश लगाउन नहुने बताउनुभयो । उहाँले प्रेस जगतले निष्पक्ष, स्वतन्त्र र मर्यादित भई घृणायुक्त अभिव्यक्तिबाट अलग भएर कार्य गर्न आग्रह गर्नुभयो । उहाँले लोकतान्त्रिक शासन व्यवस्थामा नागरिकको सुसूचित हुन पाउने अधिकारको सुनिश्चितता गर्दै प्रेस स्वतन्त्रतालाई संविधानको मर्म अनुसार रक्षा गर्न सबैजना क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । 

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै पत्रकारमाथि हुने हिंसाका घटनामा संख्यात्मक रुपमा कमी आएको भएतापनि प्रवृत्तिगत रुपमा प्रेस जगतप्रति नयाँ खालका चुनौतीहरु थपिदै गएको बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रतालाई सुनिश्चित गराउन सबै सरोकारवालालाई एक भई समस्या पहिचान गरी समाधान गर्नुपर्नेमा बताउनुभयो । 

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सरोकारवालाको सहभागितामा निर्माण हुने प्रेस सम्बन्धी कानुन आफैतर्फ फर्किन सक्नै भन्दै त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभयो । 
कार्यक्रममा महासंघका पूर्वअध्यक्ष तथा सल्लाहकारद्वय डा.महेन्द्र विष्ट र गोविन्द आचार्यले शुभकामना दिनुभयो ।  

यस्तै, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्का, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ लगायतले विश्व प्रेस स्वन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, प्रदेश, जिल्ला शाखाका प्रतिनिधि सहित पत्रकार तथा नागगरिक समाजका प्रतिनिधिको सहभागिता रहेको थियो ।