नव नियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री र महासंघबीच भेट 

 नव नियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री र महासंघबीच भेट 



२०७९ माघ २३


काठमाडौं, माघ २३ । नेपाल पत्रकार महासंघले नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई बधाई तथा कार्य सफलताको शुभकामना दिएको छ । नेपाल पत्रकार महासंघमा सोमबार भएको कार्यक्रममा मन्त्री शर्मालाई कार्य सफलताको शुभकामना दिँदै सञ्चारक्षेत्रका समसामयिक विषयमा अवगत गराएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्त रूप दिइने बताउनुभयो । “प्रविधिको विकासँगै सञ्चार क्षेत्रको नियमन आवश्यक भइसेकेको छ । पुरानाका कानुनलाई प्रतिस्थापन गर्दै नयाँ सञ्चारसम्बन्धी कानुनलाई सरोकारवालाको प्रत्यक्ष सहभागितामा निर्माण गरिनेछ ।” मन्त्री शर्माले बताउनुभयो । 
उहाँले महासंघलगायत सरोकारवाला संस्थालाई सञ्चारक्षेत्रमा रहेका नीतिगत सुधारका लागि जतिसक्दो छिटो सुझाव प्राप्त हुन्छ त्यही आधारमा सुधार गरिदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले संसदमा छलफल भएका र पाइपलाइनमा रहेका सञ्चारसम्बन्धी कानुनलाई पूर्णता दिन मन्त्री शर्मालाई आग्रह गर्नुभयो । सरकारले सञ्चारक्षेत्रलाई प्रदान गर्दैआएको सहुलियत सञ्चालकले मात्र नभई श्रमजीवी पत्रकारले पनि पाउनुपर्नेमा अध्यक्ष पोख्रेलले जोड दिनुभयो । आमसञ्चार प्रतिष्ठान, जेष्ठ पत्रकार सम्मान वृत्ति, मिडिया काउन्सिल विधेयकलगायत सञ्चारक्षेत्रको नीतिगत सुधारका लागि महासंघले दिएको सुझावका आधारमा निर्माण हुनुपर्नेमा उहाँले बताउनुभयो । 
सञ्चार मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले महासंघले उठाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै उहाँले सञ्चार प्रतिष्ठानको स्थापना गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिनुभयो । 

महासंघका पूर्वअध्यक्ष तथा सल्लाहकार डा. महेन्द्र विष्टले प्रविधिको विस्तार र पहुँचसंगै सञ्चारक्षेत्रले जनताको जीवनस्तर माथि उठाउन सहयोग पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

महासंघका सल्लाहकार एवम् पूर्व अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको हितका लागि प्रचलित कानुनका आधारमा विभिन्न कोष स्थापना गर्न मन्त्री शर्मालाई अवगत गराउनुभयो । उहाँले रोजगारमूलक साना लगानीमा मिडिया बन्द हुने अवस्थामा रहेको, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन नभएको भन्दै पत्रकारको वृहत्तर हितका लागि महासंघले पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, महासंघका सल्लाहकार निर्मला शर्माले राजनीतिक क्षेत्रबाट बेलाबेला आउने अभिव्यक्तिबाट सञ्चार क्षेत्रलाई चुनौती बढेको बताउँदै प्रेममाथि हुने त्यस्ता खोले घटनाले लोकतन्त्रमाथि  खतरा रहेको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रविधिको विकाससंगै हाल विकास भइरहेको नयाँ मिडियाको नियमन गर्न आवश्यक रहेको बताउनुभयो । 

नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले पत्रकारको क्षमता अभिवृद्धिका लागि सञ्चार प्रतिष्ठानको तत्काल स्थापना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सञ्चारगृहको आधारमा पत्रकारको पहिचानको व्यस्था गर्न, सञ्चारसम्बन्धी सरकारका नीतिगत समितिमा महासंघको प्रतिनिधित्वलाई कम स्थान दिने थालिएकोप्रति मन्त्री शर्माको ध्यानाकर्षण गराउनुभयो । उहाँले लोककल्याणकारी विज्ञापन, सरकारले सञ्चार क्षेत्रलाई प्रदान गर्ने सहुलियतलगायतमा श्रमजीवी पत्रकारको हितमा व्यवस्था गर्न पनि आग्रह गर्नुभयो ।