सञ्चारकर्मी मनोहर ढकालको हत्या सम्बन्धमा मिडिया मिसनकाे प्रतिवेदन

मिति : २०७५/१०/२१


मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको हत्या सम्बन्धमाअध्ययन गरी तयार पारिएको प्रतिबेदन


मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका वडा नम्वर–११, नवलपुर, सहिद स्मारकको मूल गेटको ठीक अगाडि घर भएका मनोहर ढकाल विगत दुई दशकदेखि जिल्लामा रहेर सञ्चार क्षेत्रमा क्रियाशिल हुनुहुन्थ्यो । २०७५ साल पुस २५ गते हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१, भैरवडाँडाको जङ्गलमा उहाँलाई स्थानीय वासिन्दाले खोल्सामा ढलेको अवस्थामा देखेपछि साँझ साढे ५ बजेतिर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढकाललाई हेटौंडा अस्पतालमा लगेपछि डाक्टरले मृत घोषणा गरेका थिए । 
ढकाल पत्रकारका अलवा शिक्षक पनि हुनुहुन्थ्यो । उहाँ विगत १४ वर्षदेखि शिक्षण पेशामा पनि संलग्न हुनुहुन्थ्यो । विद्यालयमा पढाएर घर फर्किदै गरेका ढकालको भैरवडाँडा जङ्गलमा हत्या भएपछि नेपाल पत्रकार महासंघका केन्द्र, प्रदेश र जिल्ला तथा मकवानपुरका पत्रकार÷सञ्चारकर्मी, ढकालका आफन्तको लगातारको दवाब, आग्रहपछि जिल्ला प्रहरी कार्यालय, मकवानपुरले घटनाको बारेमा अनुसन्धान गरि हत्यारा पत्ता लगाउन सफल भएको प्रेस चौतारी, मकवानपुरका अध्यक्ष प्रकाश दाहाल स्मरण गर्नुहुन्छ । 
मकवानपुरका पत्रकारहरुका अनुसार कोही कसैसँग विवाद नगर्ने, भेटमा मुसुक्क हाँसेर स्वागत गर्ने स्वभावका हुनुहुन्थ्यो सञ्चारकर्मी मनोहर ढकाल । उहाँ सबै पत्रकारहरुबीच प्रिय हुनुहुन्थ्यो । तर उहाँले कसैले कल्पनासमेत नगरेको मृत्युवरण गर्नुप¥यो । असल भावना राखेर कोही कसैलाई सम्झाउँदा ढकालले ज्यान गुमाउनु प¥यो । रेडियोकर्मी ढकालले कुलतमा लागेकाहरुलाई सपार्न खोज्दा उक्त नियति भोग्नु परेको हो । हेटौँडाको राप्ती पुलबाट सीधै घरतर्फ नगएर ढकाल किन दाहिने मोडिएर भैरवडा“डातिर लाग्नुभयो भन्ने कुरा अझै खोजको विषय रहेको छ । यो तथ्य अझै खुल्न सकेको छैन । 
प्रहरी अनुसन्धानमा ढकाल मोटरसाइकलमा पूर्व–पश्चिम राजमार्गको हेटौँडास्थित राप्ती पुलबाट करिब दुई सय मिटर कच्ची मोटरबाटो पार गरेर दाहिने जङ्गलतर्फ मोडिनुभएको, त्यहा“ कुलतमा लागेका दुई युवाहरुले लागु औषध गाँजा सेवन गर्दै गरेको अवस्थामा भेटिएका र लागु औषध सेवन नगर भनेर सम्झाउन, बुझाउन खोज्दा ती दुई युवाले उल्टै ढकालमाथि हातपात गरेका र धकेलेर खोल्सामा खसालेर हत्या गरेको पाइएको छ । हत्यामा संलग्न भएका दुई युवकसहित मृतकको औँठी र मोवाईल खरीद गर्ने अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ  । 
हत्या गरिएका रेडियोकर्मी ढकालले दक्षिण एशियाकै पहिलो अडियो टावर पालुङबाट आफ्नो सञ्चार यात्राको थालनी गर्नुभएको थियो । २०५२ सालमा हालको थाहा नगरपालिका—२ मा पैयूँको रुखमा माइक राखेर समाचार र सूचनाहरु सार्वजनिक गर्ने गरिन्थ्यो । उक्त अडियो टावरमा उहाँ प्राविधिकको रुपमा प्रवेश गर्नुभएको थियो । ढकालकै सक्रियतामा २०६१ असार २१ गते पालुङमा त्यही अडियो टावरलाई स्तरोन्नती गरी ‘सामुदायिक रेडियो पालुङ’ स्थापना गरिएको थियो । उक्त सामुदायिक रेडियोमा उहाँ प्राविधिकसहित कार्यक्रम सञ्चालक हुनुहुन्थ्यो । ढकालसँगै काम गरेका पालुङका सञ्चारकर्मी कुमार नेगीका अनुसार सामुदायिक रेडियो पालुङबाट प्रसारण भएको पहिलो आवाज मनोहर ढकालको थियो ।
रेडियो पालुङ नारायणी अञ्चलको पहिलो सामुदायिक रेडियो हो, ढकाल यसको पहिलो कार्यक्रम सञ्चालक र प्राविधिक हुनुहुन्थ्यो । ढकालले पालुङ रेडियोमार्फत डोको रेडियो सञ्चालन गरेर मकवानपुरका दुर्गम गाउ“का वासिन्दाको आवाजलाई नीति निर्माण तहसम्म पु¥याउन सफल हुनुभएको थियो । २०६६ सालसम्म उहाँ पालुङमा नै रहेर रेडियो पालुङलाई अगाडि बढाउनुभयो । त्यसपछि हेटौँडामा रेडियो शक्तिमा प्राविधिकसँगै कार्यक्रम संयोजकको जिम्मेवारीमा रहेर काम गर्नुभयो । पछिल्लो समयमा उहाँ हेटौँडा उपमहानगरपालिका—४ स्थित रेडियो अनमोलमा कार्यरत हुनुहुन्थ्यो । 
ढकाल हेटौँडा उपमहानगरपालिका—१२ स्थित बुद्ध माविमा शिक्षक हुनुहुन्थ्यो । विद्यालयमा पढाउने समय बाहेकको समयमा ढकाल रेडियोमा नै व्यस्त रहनुहुन्थ्यो । जुन दिन उहाँको हत्या भयो, त्यो दिन उहाँ विद्यालयबाट रेडियोमा जानुभएको पाइएन । घटना भएको दिन पुस २५ गते उहाँ हेटौँडाको मुख्य बजारबाट घर जान्छु भनेर हिँड्नुभएको बुझिएको छ ।
२०३३ साल असोज ५ गते जन्मिएका ढकालले व्यवस्थापन विषयमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको थियो । सात वर्षको उमेरमा मनोहरले पिता गुमाउनुभएको थियो, अहिले उहाँको छोराले त्यही नियति भोग्नु परेको छ । मनोहरकी आमा, पत्नी, एघार वर्षीया छोरी र सात वर्षीय छोरा छन् । मनोहरको हत्यापछि ढकाल परिवार गहिरो शोकमा डुबेको छ । इमान्दार र सज्जन रेडियोकर्मी ढकालको हत्याले मकवानपुरका पत्रकार÷सञ्चारकर्मीसमेत शोकमा छन् ।

सञ्चारकर्मी मनोहर ढकालको हत्या बारेमा स्थलगत अध्ययनबाट पाइएका केही तथ्यहरु :


१. स्थानीय वासिन्दाले घटनास्थलमा देखेर प्रहरीलाई खबर गरेको मिति र समय : २०७५।०९।२५ गते साँझ साढे ५ बजे ।
२. घटना भएको स्थान र अवस्था ः मकवानपुर जिल्ला, हेटौँडा उपमहानगरपालिका वडा नं. १, भैरवडाँडा जङ्गल । बाटोबाट झण्डै ८ फिट तल खोल्सोमा ढुङ्गामा बजारिएर उत्तानो परेको र टाउको कोल्टे परेको अवस्थामा फेला पारिएको ।
३. मनोहर ढकाललाई घटनास्थलबाट तत्काल हेटौँडा अस्पतालमा पु¥याएको ५ मिनेटपछि डाक्टरले मृत घोषणा गरेका । 
४. हत्या भएकै दिनदेखि घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापासमेत सात जनाको टोली अनुसन्धानमा खटिएको ।
५. हेटौँडा– १ का वडाअध्यक्ष सबिन न्यौपाने र मकवानपुरका सञ्चारकर्मीहरुको रोहबरमा प्रहरीले प्रारम्भिक अनुसन्धान शुरु गरेको । घटनास्थल मुचुल्काको क्रममा तालिम प्राप्त कुकुरको प्रयोगबाट हत्यामा संलग्न व्यक्ति भागेको सहि दिशाको मार्ग निर्देशित भएको । त्यसपछि अनुसन्धान अघि बढाएको पाईएको । 
६. ढकाल हत्याको घटनामा संलग्न व्यक्तिहरु पक्राउ नपरुन्जेलसम्म पटक–पटक घटनास्थलको अवलोकन गर्दै प्रहरीले झण्डै एक सय पचासजनासँग सोधपुछ गरेर हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको पाइएको छ । ढकाल उक्त जङ्गलमा किन र कसरी पुगे भन्नेबारेमा थप अनुसन्धान भइरहेको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक मधुकुमार थापाले बताउनुभएको छ । 
७. प्रहरीले ११ दिनको अनुसन्धानपछि ढकालको हत्यामा संलग्न मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ बस्ने राजन पुडासैनीको छोरा वर्ष १९ को अनमोल पुडासैनी र मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर– १ बस्ने पदम वाईबाको छोरा वर्ष १८ को प्रवीण वाईबालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । 
८. प्रहरीले मनोहर ढकालको हत्या गरेर लुटिएका सामग्री खरीद गर्ने मकवानपुर, भिमफेदी गाउँपालिका वडा नम्वर ६ बस्ने दिनेश मोबाईल एण्ड ईलेक्ट्रोनिक सेन्टरका सञ्चालक वर्ष ३१ को दिनेश थापा मगर र मकवानपुर, हेटौँडा उपमहानगरपालिका वडा नम्वर २ बस्ने नारायणी सुनचाँदी पसलका सञ्चालक वर्ष ४८ को नारायण बहादुर सुनारलाई समेत पक्राउ गरेर मुद्धा चलाएको छ । 
९. स्थानीय अमृत वाग्लेले घटनास्थलमा मनोहर ढकाल ढलेको देखेर प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी घटनास्थलमा साँझ साढे ५ बजे पुगी स्थानीयको रोहवरमा घटनास्थलको मुचुल्का गरेको थियो । 
१०. प्रहरीले घटना सम्बन्धमा मृतकलगायत शंकास्पद व्यक्तिहरुको फोन नम्वरहरुको अनुसन्धानको शिलशिलामा प्रविधिको विशेष प्रयोग गरेको जानकारी गराएको । मिति ः २०७५।१०।०४ गते दिउँसो साढे १ बजे मृतकको मोबाईल फेला पारी दिनेश मोबाईल एण्ड ईलेक्ट्रोनिक सेन्टर पसलबाट वर्ष ३१ को दिनेश थापा मगरलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ बस्ने वर्ष १९ को अनमोल पुडासैनीसँग दश हजार रुपैयाँमा खरीद गरेको कुरा बताएको, नागरिकताको छायाँकपी समेतबाट उक्त कुरा खुलेको प्रहरीले जानकारी गराएको ।
११. प्रहरीले अनुसन्धान गर्दै जाँदा मिति २०७५।१०।०४ गते साँझ ५ बजे मकवानपुर जिल्ला हेटौँडा–४ बाट घटनामा संलग्न मुख्य दोषी अनमोल पुडासैनी र प्रवीण वाईबालाई पक्राउ गरेको ।
१२. पक्राउ परेका दुई जना युवाले पत्रकार सम्मेलनमा आफुहरु बसी गफ गरिरहेको ठाउँमा मनोहर ढकाल आई भाईहरु तिमीहरु जङ्गलमा किन बसेको ? बदमासी गर्न बसेको हो ? प्रहरीलाई बोलाई दिऊँ ? भनि आफुहरुलाई भनेपछि आफुहरुले पनि किन त्यस्तो भनेको ? भनि बादबिवाद भईरहँदा ढकालको हातमा सुनको आँैठी रहेको र झोला समेत बोकेकाले प्रलोभनमा परी ढकालले चलाएर आएको ना.२३ प ६३३८ नम्वरको डिस्कभर मोटरसाईकल स्टार्टमै रहेको अवस्थामा हात समाती तानेर लडाई घाँटी थिची ढकालले लगाएको ः लेखेको सुनको औँठी, पर्स, हार्ड डिक्स र झोलासमेत खोसी मुखमा मुक्काले हिर्काई मार्ने नियतले घटनास्थलमा ढुङ्गा भएको खोल्सामा धकेली दिएको र मोबाईल, सुन र पर्समा भएको पाँच सय रुपैयाँ लिई पर्स खोल्सामा फालेको, झोलामा केही नभएकोले झोला पनि फाली हार्ड डिक्ससमेत लिई घटनास्थलबाट फरार भएको बताएका ।

निष्कर्ष :
सञ्चारकर्मी मनोहर ढकालको हत्या घटनाले परिवार गहिरो शोकमा छ, सहकर्मी सञ्चारकर्मीहरु मर्माहत बनेका छन् । जिल्लाको सञ्चार क्षेत्रमा ठूलो क्षति पुगेको छ । प्रहरीले हत्यामा संलग्न दोषीलाई पक्राउ गरि कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको छ । दोषी उपर कडा कानुनी कारवाहीका लागि निरन्तर खबरदारी आवश्यक छ । 
घटनाको छोटो समयमै प्रहरीले प्रभावकारी अनुसन्धान गरी दोषी पक्राउ गर्न सकेको छ । त्यसका लागि नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखा एवम् जिल्लाका पत्रकार÷सञ्चारकर्मीको निरन्तरको दवाब, आग्रह महत्त्वपूर्ण रह्यो । दोषी पक्राउ परेपनि घटनास्थलमा मनोहर किन र कसरी पुग्नुभयो भन्ने विषय अझै रहश्यको गर्भमै छ । प्रहरीले यो विषयको अनुसन्धान गरी चाँडो सत्यतथ्य पत्ता लगाउन आवश्यक छ । यसबाट घटनाबारे थप प्रष्ट हुनेछ ।
मनोहर ढकालको परिवारमा रहनुभएका उहाँकी आमा, श्रीमती र दुई सन्तान उहाँमा आश्रित रहँदै आउनुभएकोले मनोहरले सञ्चार क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै राज्यले परिवारको सहयोग र बालबच्चाको पठनपाठनका लागि आर्थिक सहयोगसमेत उपलब्ध गराउन आवश्यक छ । यो घटनाले समाजमा अवाञ्छित क्रियाकलाप हुन नदिन तथा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासन थप चनाखो हुनुपर्ने तथा पत्रकार÷सञ्चारकर्मीहरुले पनि आफ्नो व्यक्तिगत सुरक्षाप्रति सतर्क भई आफ्नो व्यावसायिक कार्य सम्पन्न गर्नुपर्ने देखिएको छ ।
अन्त्यमा, हामीलाई यस घटनाको अध्ययन गरी प्रतिवेदन तयार गर्ने क्रममा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।

१. कृष्ण गिरी        
केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ÷मिसन संयोजक
२. प्रताप विष्ट
नेपाल पत्रकार महासंघ ३ नं. प्रदेश अध्यक्ष÷मिसन सदस्य
३. हरि हुमागाई
नेपाल पत्रकार महासंघ, मकवानपुर शाखा अध्यक्ष÷मिसन सदस्य

 डाउनलोड गर्नुहोस्