पत्रकारलाइ दुर्व्यवहार गरिएकाे घटनाप्रति नेपाल पत्रकार महासंघकाे ध्यानाकर्षण

मिति : २०८२।०३।२५

महोत्तरीका पत्रकार दिवाकर साहमाथि जलेश्वरस्थित पूर्वाधार विकास कार्यालयमा भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

२०८२ असार २३ गते सोमबार राति उक्त कार्यालयमा ‘अनुचित गतिविधि भइरहेको’ आशंकामा समाचार संकलन गर्न गएका एचटिपी खबरका सञ्चालक साहमाथि केही व्यक्तिबाट दुर्व्यवहार भएको महासंघ महोत्तरी शाखाले जानकारी गराएको छ ।

पेशागत धर्म निर्वाहका क्रममा कुनै पनि किसिमले अवरोध पुर्‍याउनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो । महासंघ यस्ता हर्कतको सधैँ निन्दा गर्दछ र दुर्व्यवहारमा संलग्नको पहिचान गरी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायसँग माग गर्दछ ।

महासंघ पत्रकार साहलाई पनि कर्तव्य पालनाका क्रममा पत्रकार आचारसंहिता पालना गर्न अनुरोध गर्दछ ।

यसैगरी सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्यासलाई लिएर रामेछापका पत्रकार शम्बरबहादुर हायु (प्रशान्त) लाई मन्थली माध्यामिक विद्यालय रामेछापमा कार्यरत शिक्षक ऋषि कार्कीले दुर्व्यवहार गरेकोमा महासंघको ध्यानार्षण भएको छ ।

यही असार २१ गते शनिबार कुनै व्यक्तिको नाम तथा चरित्र नखुलाई लेखेको स्ट्याटसको निहुँमा पत्रकार हायु कार्यरत रेडियो तफदीको कार्यालयमा प्रवेश गरेर कार्कीले दुर्ब्यबहार गरेको महासंघ रामेछाप शाखाले जनाएको छ ।

कुनै पनि विषयमा असन्तुष्टि भए छलफल र वार्ताका माध्यमबाट समाधान खोज्ने उपाय हुँदाहुँदै शिक्षण पेशाजस्तो मर्यादित क्षेत्रमा कार्यरत व्यक्तिबाट अपनाइएको यो शैलीलाई महासंघले अत्यन्त निन्दनीय, अशोभनीय र प्रेस स्वतन्त्रता विरोधी घटनाका रुपमा लिएको छ ।

महासंघ यो हर्कतप्रति कडा आपत्ति र खेद प्रकट गर्दछ । घटनाको छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएर पत्रकारलाई निर्वाध रुपमा प्रेस स्वतन्त्रता उपभोगको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।

……………..

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्