पत्रकार आचारसंहिता र मिडिया हेर्ने एकीकृत कानुन आवश्यक

पत्रकार आचारसंहिता र मिडिया हेर्ने एकीकृत कानुन आवश्यक



२०८२ आषाढ १३

असार १३, काठमाडौँ । पत्रकार आचारसंहिता उल्लंघन र मिडिया नियमनको जिम्मेवारी प्रेस काउन्सिल नेपाललाई नै दिनुपर्ने कार्यक्रमका मुख्य वक्ताहरूले बताएका छन् । 

नेपाल पत्रकार महासंघ पत्रकार आचारसंहिता अनुगमन तथा मानवअधिकार विभाग र प्रेस काउन्सिल नेपालको संयुक्त आयोजनामा भएको ‘अनलाइन सञ्चारमाध्यममा पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले त्यस्तो कुरामा जोड दिएका हुन् । 

नेपाल पत्रकार महासंघका सचिव तथा विभागका प्रमुख रमेश खतिवडाको अध्यक्षता तथा महासंघका अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकार र मिडिया हेर्ने एकीकृत कानुन जरुरी रहेको भन्दै उनीहरूले नत्र भविष्यमा सबै पत्रकार र मिडियाले मुद्दा खेप्न बाध्य हुनुपर्ने बताएका थिए ।

त्यस अवसरमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पछिल्ला केही मुद्दाहरूको बहसमा महासंघको तर्फबाट सहभागी हुँदै गर्दा राज्यले मिडियालाई विभिन्न बहानामा कडाइ गर्न खोजिएको देखिएको बताउनुभयो ।

पत्रकारलाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गर्ने कार्य गरिएकोले समस्या उत्पन्न भएको भन्दै उहाले मिडियाले प्रकाशन गर्ने कन्टेन्टका विषयमा समस्या उत्पन्न भएमा त्यसको उजुरी लिने र कारबाही गर्ने जिम्मेवारी प्रेस काउन्सिललाई नै जिम्मेवार बनाउनुपर्नेमा उहाको जोड थियो । 

‘पत्रकार र मिडियाको विषय प्रेस काउन्सिलले नै हेर्ने हो । काउन्सिलद्वारा नै उजुरी लिएर आवश्यक प्रक्रिया अगाडि बढाउने हो । तर पछिल्लो समय मिडियामाथि लगातार मुद्दा र उजुरी पर्दै आएको देखिन्छ’, अध्यक्ष शर्माले भन्नुभयो , ‘हामीसँग उपयुक्त कानुनको अभाव पनि छ । विद्युतीय कारोबार ऐनअन्तर्गत पत्रकारको मुद्दा हेर्दा अहिले सबैभन्दा बढी पत्रकार मारमा परेका छन् । त्यसैले पत्रकार र मिडियाको मुद्दा हेर्नका लागि एकीकृत कानुनको आवश्यकता छ । जसमा सबैभन्दा बढी काउन्सिललाई जिम्मेवार बनाउनुपर्छ ।’
अध्यक्ष शर्माले पत्रकार आचारसंहिता सबै पत्रकारले पालना गर्न आवश्यक रहेको भन्दै सबै पत्रकारले आफ्नो दायित्वलाई ध्यान दिँदै जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा प्रेस काउन्सिल नेपालका प्रवक्ता दिपक खनालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा काउन्सिलले खेल्दै आएको भूमिका र सञ्चारमाध्यममा आचारसंहित पालनाको अवस्था लगायतमा प्रस्तुतिकरण राख्नुभएको थियो ।   

पत्रकार हरिबहादुर थापा र राजेश राईले पत्रकार आचारसंहिताको महतत्व र पछिल्लो समय प्रेस स्वतन्त्रतालाई फौजदारी कानुन मार्फत हस्तक्षेप गर्न खोजिएका विभिन्न दृष्टान्त प्रस्तुत गर्नुभयो । कार्यक्रममा महासंघ केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा पत्रकार सहित सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।